करका दरहरु परिमार्जन गरेकोमा मोरङ उद्योग व्यापार संघद्वारा स्वागत
- 1 year ago
विराटनगर । मोरङ उद्योग व्यापार संघले मार्वल, ग्रेनाईट, चाँदी, सुन तथा दालहरु आयात गर्दाको भन्सार महशुल, अन्तःशुल्क तथा अग्रिम आयकरका दरहरुमा नेपाल सरकारले हालै परिमार्जन गरेको निर्णयको हार्दिक स्वागत गरेको छ ।
संघले एक विज्ञप्तिमार्फत मार्वल र ग्रेनाईटको भन्सार महशुल न्यूनीकरण तथा अन्तःशुल्क खारेज गर्ने सरकारको सो निर्णयले वर्षौंदेखि बन्द रहेका १७ भन्दा बढी स्वदेशी मार्वल र ग्रेनाईट उद्योगहरु सुचारु हुने बाटो खुल्नुका साथै लगानीकर्ताहरुको ठप्प रहेका पुँजी चलायमान हुने, स्वदेशी उत्पादकत्व अभिवृद्धि हुने, हजारौंले गुमाएका रोजगारी पुनर्जीवित हुने, विद्युतको स्वदेशी खपत अभिवृद्धि हुने तथा मुलुकको औद्योगिकीकरणमा सकारात्मक प्रभाव पर्ने वातावरण श्रृजना भएकोे महसुस गरेका छौँ, भनिएको छ ।
विज्ञप्तिमा उक्त निर्णयबाट चाँदी र सुनको भन्सार महशुल न्यूनीकरण गरिएकोमा सो वस्तुहरुको स्वदेशी कारोबार फष्टाउने, अवैध कारोबार एवं अनैतिक गतिविधिहरु अन्त्य हुने तथा अनाधिकृत पुँजी पलायनको खतरा समेत नियन्त्रण हुने विश्वास लिएका छौँ ।
त्यस्तै, दालको आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम आयकरलाई २.५ प्रतिशत कायम गर्नाले उपभोक्ताहरुलाई परिरहेको भार न्यूनीकरण गर्न मद्दत पुग्नुका साथै स्वदेशी बजारको प्रवद्र्धन एवं आत्मनिर्भरतालाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अनुभूति गरेका छौँ, भनिएको छ ।
अतः नेपालील गानीकर्ताहरुको संरक्षण तथा उत्साहित गर्ने, स्वदेशी उत्पादकत्व तथा आत्मनिर्भता प्रोत्साहन गर्ने, मुलुकको राजस्व संकलनमा अभिवृद्धि गर्ने, रोजगारी, स्वदेशी बजारलगायत बहुआयामिक अवसरहरु श्रृजना गर्ने गरी सरकारले गरेको सो स्वागतयोग्य निर्णयको उच्चकदर गर्दै धन्यवाद ज्ञापन गर्दछौँ ।
साथै, आगामी दिनमा समेत मुलुकको खस्कँदो औद्योगिक÷व्यवसायिक वातावरणको संरक्षणार्थ सरकारले यसै प्रकारका उद्योग–व्यवसायमैत्री नीति–निर्देशनहरु अवलम्बन गर्दै जाने अपेक्षा लिएका छौँ । विज्ञप्तिमा संघका अध्यक्ष अनुपम राठीले हस्ताक्षर गरेका छन् ।