उद्योग संगठनद्वारा नियमित विद्युत आपूर्ति गर्न माग
- 10 months ago
विराटनगर । सुनसरी–मोरङ, विराटनगर–रानी, विराटनगर–कटहरी औद्योगिक करिडोरमा हाल दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति अवरोध भइरहेको कार्यप्रति उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
विना पूर्वसूचना भइरहेको विद्युत कटौतिले उद्योग व्यवसायको नियमित सञ्चालनमा व्यवधान सिर्जना भई उत्पादन कटौति गर्न बाध्य हुनुका साथै दैनिक करौडौंको आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको बताउँदै संगठनले विद्युत प्राधिकरणलाई सम्वेदनशिन हुन आग्रह गरेको छ ।
हरेक वर्ष सुख्खायाममा विद्युत आपूर्ति कमी भई उद्योग व्यवसायमा अवरोध हुँदै आएको तथ्य र तथ्यांकसहित संगठनले वारम्वार ध्यानाकर्षण गराउदा समेत दीर्घकालिन समाधानका लागि नियामक निकायबाट कुनै ठोस योजना नआएकोमा दुःख व्यक्त गर्दै उद्योग व्यवसायको समस्यालाई गम्भिरतापूर्वक नलिने प्रवृतिले प्राधिकरण निजी क्षेत्रको प्रताडनाबाट सम्वदेनशील नभएको अनुभूति भएको संगठनका अध्यक्ष राकेश सुरानाको भनाइ छ ।
प्राधिकरणको नयाँ नेतृत्व विद्युतको नियमित आपूर्ति र गुणस्तर सुधारमा केन्द्रित हुने अपेक्षा लिएतापनि त्यसतर्फ प्राधिकरणले खासै चासो नदेखाई नाफा र नोक्सानीमा केन्द्रित हुनाले उद्योग व्यवसाय थप प्रताडित हुन पुगेको अध्यक्ष सुरानाले बताए ।
उनले सुख्खायाममा एकातर्फ विद्युत महशुल बढी लिने र अर्कातर्फ विद्युत निरन्तर आपूर्ति नगर्नाले उद्योग व्यवसाय दोहोरो मारमा परेका बताउदै उद्योग व्यवसाय क्षेत्रले सुख्खायाममा निरन्तर विद्युत आपूर्तिको अभावमा व्यर्होनु परेको कठिनाइ र यसबाट समग्र औद्योगिक क्षेत्रको मूल्य श्रृखलामा परेको नकारात्मक प्रभावलाई गम्भिरतापूर्वक लिई विद्युत आपूर्तिको समस्यालाई दीर्घकालिन र नियमित आपूर्तिको व्यवस्था गरी समाधान गर्नका प्राधिकरण समक्ष उनले माग गरेका छन् ।