उद्योग संगठन र डिग्री क्याम्पस विराटनगरबिच सहकार्य

  • 5 months ago
उद्योग संगठन र डिग्री क्याम्पस विराटनगरबिच सहकार्य


विराटनगर । उद्योग र शैक्षिक क्षेत्रबिच सहकार्यको माध्यमबाट आर्थिक विकाससँग सम्बन्धित विविध विषयहरुमा अध्ययन अनुसन्धान गरी यस क्षेत्रको समग्र औद्योगिक विकासमा थप टेवा पुर्‍ याउने अभिप्रायका साथ उद्योग संगठन मोरङ र डिग्री क्याम्पस विराटनगरबिच समझादारी भएको छ । 

डिग्री क्याम्पसमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले आर्थिक एवं औद्योगिक क्षेत्रको दीगो विकास, लगानीमैत्री नीति निर्माण, वर्तमान कानुनहरुको समय सापेक्ष परिवर्तनमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउदै नीति विश्लेषण, दक्ष जनशक्ति उत्पादन र समग्र अर्थतन्त्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा उद्योग र शैक्षिक क्षेत्रबिच सहकार्य हुनुपर्ने आवश्यकता औल्याए । 

उनले आर्थिक एवं औद्योगिक क्षेत्रमा आधारित अध्ययन, अनुसन्धान र औद्योगिक ईकोसिस्टम विकासले मात्र अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने उल्लेख गर्दै शैक्षिक क्षेत्रले निजी क्षेत्रसँग हातेमालो गर्नुपर्नेमा जोड दिए । 

डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले आर्थिक एवं औद्योगिक क्षेत्रसंग सम्बन्धित अध्ययन, अनुसन्धान र औद्योगिक विषयको शोध कार्यमा सहजीकरण गर्न डिग्री क्याम्पस सदैव अग्रसर रहेको बताउँदै  शैक्षिक एवं औद्योगिक कृयाकलापहरुमा निजी क्षेत्रसँग सहकार्य गर्न डिग्री क्याम्पस विराटनगर इच्छुक रहेको धारणा राखे । 

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले उच्च शिक्षा अध्ययन अध्यापनमा कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था डिग्री क्याम्पस विराटनगरसंगको सहकार्यमा गरिने गतिविधिले ईण्डट्रिज एकेडेमिया लिंकेज आवश्यकतालाई थप उजागर गर्ने स्पष्ट पारे । 

सोही अवसरमा उद्योग संगठन मोरङले डिग्री क्याम्पसको ग्राउण्ड परिसरमा विराट एक्स्पो प्रयोजनका लागि निर्माण गरेको संरचना डिग्री क्याम्पस विराटनगरका प्रमुखलाई हस्तान्तरण गरेको छ । 

शैक्षिक संस्था र निजी क्षेत्रको साझेदारी अन्तर्गत उद्योग संगठन मोरङले निर्माण गरेको संरचनाले क्याम्पसको पूर्वाधार विकासमा थप टेवा पु¥याउने संगठनले विश्वास व्यक्त गरेको छ । 

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं.१४ का अध्यक्ष सूर्यनारायण महतो, संगठनका निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, डिग्री क्याम्पस विराटनगरका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।