बराह सहकारीको १० अर्ब ७३ करोड हिनामिना

  • 1 year ago
बराह सहकारीको १० अर्ब ७३ करोड हिनामिना


धरान । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था विरुद्ध सुनसरी जिल्ला अदालत इनरुवामा मुद्दा दर्ता भएको छ ।

सहकारीका निक्षेप सदस्यहरुले बराह ग्रुप कम्पनीलगायत २ दर्जनभन्दा बढी कम्पनीले १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको भन्दै जिल्ला अदालतमा बुझाएको अभियोगपत्रमा उल्लेख गरिएको छ । अभियोगपत्रमा सहकारी संस्थाको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ । 

सो सहकारीका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) बाट ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ रुपैयाँ हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । जसमा शिवकुमार स्वयंले २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ, उनका बुबा इन्द्रकुमार विश्वकर्माबाट २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ रुपैयाँ, उनकी आमा स्व.विष्णुमाया विश्वकर्माबाट ७१ करोडभन्दा बढी रकम असुल गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ । 

धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था

यस्तै अभियुक्त मन्दिरा लामिछानेको हकमा १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय रुपैयाँ, मानबहादुर विश्वकर्माको हकमा १ अर्ब ११ करोड ८१ लाख ८१ हजार २१७ रुपैयाँ, हरिकुमार धमला (विश्वकर्मा)को हकमा ३७ करोड ६१ लाख २४ हजार ३२८ रुपैयाँ, प्रकाश लामगादेको हकमा ४८ करोड १८ लाख ८९ हजार ८९ रुपैयाँ, शुभराज खातीबाट ४३ करोड ७१ लाख ८१ हजार ८२७ रुपैयाँ असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ ।

अभियोगपत्रमा शिवकुमार विश्वकर्मा लामिछानेसमेत ३५ जनाको हकमा सहकारी ऐन २०७४ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको बिगो र सजायको मागदाबी गरिएको छ । उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को ख, ग, छ, झ, ञ, ट, ड, ढ र त बमोजिमको कसुर गरेको तथा संगठित अपराध (निवारण) ऐन २०७० को दफा ३ को उपदफा १, २, ३ को खण्ड (क) र ५ बमोजिमको कसुर गरेको दाबी गरिएको छ । 

सो सहकारीका संस्थाका सञ्चालक÷अध्यक्ष लगायतका पदाधिकारीहरू, कर्मचारीहरूसमेतको मिलेमतोमा सहकारीका सेयर सदस्य तथा बचतकर्ताको ५ अर्ब ८५ करोड ९८ लाख ७७ हजार ७३९ रुपैयाँ रकम भराउन माग गर्दै धरान ९ का शंकर थापा क्षेत्रीसमेत गरी ४ हजार १६८ जनाले यसअघि नै किटानी जाहेरी दिएका थिए ।

सरकारी वकिलको कार्यालयले भने सेयरधनीहरू शिवकुमार विश्वकर्मा (लामिछाने), मन्दिरा लामिछाने विश्वकर्मा, मानबहादुर विश्वकर्मा, हरिकुमार धमला विश्वकर्मा, याम्बा ल्वागुन भन्ने इन्द्रबहादुर विश्वकर्मासहित ३५ जना सञ्चालक समितिमा रहेकाहरू र अन्य ऋणी गरी २६२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । 

हाल मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालिकोटे) विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फूलकुमारी भन्ने फूलमाया राई, सुदिन वि.क., श्रीमान महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र विक्रम गजमेर प्रहरी हिरासतमा छन् । सो सहकारीको कारोबार २०७९ जेठ २३ गतेदेखि बन्द रहेको छ ।