कृषि एक्स्पो २०८१ को तयारी तीव्र

  • 1 year ago
कृषि एक्स्पो २०८१ को तयारी तीव्र

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा  भदौ २७ देखि ३० गतेसम्म कटहरी कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना हुने भएको छ । त्यसको तयारी तीव्र पारिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

कृषि एक्स्पोको प्रचार प्रसार गर्ने सिलसिलामा महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा गएको टोलीले इलामको सूर्योदय नगरपालिकाको सभाहल  र उद्योग वाणिज्य संघ विर्तामोडमा त्यस क्षेत्रका उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, कृषि व्यवसायी तथा कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । 

उक्त अवसरमा महासंघका अध्यक्ष  राजेन्द्र राउतले विगतमा काठमाण्डौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गर्न गइरहेको र सो एक्स्पोलाई प्रदेश सरकार, कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको प्रवर्दन र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउंपालिकाको सहकार्यमा कृषि एक्स्पो हुन गइरहेको जानकारी गराए । उनले उक्त एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरीलगायतका वस्तुहरुको प्रदर्शनी हुे बताए । त्यस्तै कृषि विज्ञबाट प्यानल डिस्कशन, विटुवी छलफल लगायत एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आएर परामर्श दिने कार्यक्रम रहेको उनले जानकारी दिए ।  यसैगरी उक्त एक्स्पो कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषकले उत्पादन गरेका वस्तुहरुको उद्योग स्थापना गर्न प्रेरित गर्ने गरी कृषक र उद्योगीहरुवीच समन्वय गराउने कार्यक्रम रहेको बताउंदै  जिल्ला बाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिएको जानकारी गराए । 

यसै क्रममा सूर्योदय नगरपालिकामा भएको छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पहिलो पटक कृषि एक्स्पोको आयोजना गर्न गइरहेकोमा सूर्योदय नगरपालिकाका प्रमुख रणवहादुर राईले खुशी व्यक्त गर्दै यसलाई सफल बनाउन आफ्नो क्षेत्रबाट पूर्णरुपमा सहयोग रहने वताए । उक्त एक्स्पोमा यस क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखिने उनले जानकारी गराए । विगतमा रमाइलो मेला मात्र आयोजना भइरहेको र आम्दानी कसरी आउंछ भन्ने होडबाजीमा मेला महोत्सव आयोजना हुने गरेकोमा यसपटक महासंघले परिणाम आउने गरी एक्स्पोको तयारी गरेकोमा सकारात्मक भएको भन्दै यसलाई सवै मिलेर सफल बनाउनु पर्नेमा  उनले जोड दिए । 

कार्यक्रममा सहभागी ताप्लेजुंग उद्योग वाणिज्य संघ, पांचथर उद्योग वाणिज्य संघ, इलाम उद्योग वाणिज्य संघ, सूर्योदय नगर उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, अलैंची व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधि लगायत सहभागी कृषी व्यवसायी र कृषकहरुले एक्स्पोमा कोशी प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु, प्रविधि, कृषि औजारको प्रदर्शनी हुछ । त्यस्तै कृषि सम्वन्धी जानकारी गराउन विज्ञहरुको थलो बनाई आधुनिक कृषि व्यवसायका लागि जोड दिन उनले अनुरोध गरेका थिए ।  एक्स्पोलाई सफल बनाउन पूर्णरुपमा सहयोग रहने प्रतिवद्धता जनाइएको थियो । 

यसैगरी विर्तामोड उद्योग वाणिज्य संघकामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  नरेन्द्रकुमार खड्काले कृषि एक्स्पो कोशी प्रदेशका लागि एउटा उत्साह भएकोले सवैले मिलेर सफल बनाउनु पर्ने बताए । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष  निर्मल भट्टराईले यो एक्स्पो सबैसँग जोडिएको हुंँदा यसलाई सफल बनाउन अलैंची व्यवसायी महासंघको पूर्ण सहयोग रहने वताए । 

महिला उद्यमी गोमा भट्टराईले महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुलाई प्राथमिकता दिनु पर्ने बताइन् । विर्तामोड नगरपालिकाका कृषिशाखा प्रमुख राजेन्द्र कँडेलले ठूला औजार मात्र नभई  कृषकको पहुंचमा हुने खालका हाते औजार हुनुपर्ने, चिया, कफी, फलफूल, अलैचीको उत्पादनमा सहज हुने औजार राखिनुपर्नेमा जोड दिए । चिया उत्पादक संघका अध्यक्ष  आदित्य पराजुलीले चियाका विभिन्न उत्पादनहरु एक्स्पोमा रहने वताउंदै विषादीयुक्त होइन विषादीमुक्त खाद्यवस्तुको प्रयोग गरौ भन्न सन्देश एक्स्पोमा दिनु पर्ने बताए ।