विराट एक्स्पोको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
- 1 year ago
विराटनगर । उद्योग संगठन मोरङद्धारा आयोजित विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्टको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा माघ १२ गते दिउँसो १ बजे प्रदर्शनी स्थलमा गरिने भएको छ ।
संगठनले यसअघि यसपटकको आठौ संस्करणको विराट एक्स्पो आगामी माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना गर्ने र कार्यक्रमको उद्घाटन कार्यक्रम माघ ११ गते समय निर्धारण गरिएको थियो । तर एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा आयोजना गर्ने तयारीका लागी केही प्र्राविधिक विषय व्यवस्थापनका कारण सो कार्यक्रमलाई एक दिनपछि सार्नु परेको संगठनले जनाइएको छ ।
युवा उद्यमशिलता प्रवर्धनमा फोकस यसपटकको एक्स्पोमा डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिएको छ । उद्यम तथा व्यवसायका लागी संगठनको सेन्टर फर एक्सेलेन्स, रोजगारका लागी रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधिको शोकेश, प्रत्यक्ष प्राविधिक तालिम आयोजना गरिने छ ।
करिअर काउन्सेलिङ, आर्यडियालाई उद्यमशिलतामा रुपान्तरण गर्न स्टार्टअप हाकाथन, दैनिक थिमेटिक कन्फेरेन्स, प्रविधि र फेशनलाई झल्काउने थिमेटिक फेशन शो, दैनिक विद्यार्थीहरुका लागि उद्यमशिलता माईन्डसेट सम्बन्धी प्रशिक्षण कार्यशाला, कफि सम्बन्धी लाटेआर्ट प्रतिष्पर्धा, कफि टेष्टिङ, दैनिक साँस्कृतिक कार्यक्रम लगायतका फरक फरक प्रकृतिका कार्यक्रम मार्फत सबै वर्गलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएकाले सबैलाई अवलोकन गर्न अपिल गरिएको छ ।
उद्घाटनपश्चात माघ २० गतेसम्मका निर्धारित अन्य सबै कार्यक्रमहरु यथावतरुपमा सञ्चालन हुने जानकारी गराउँदै विराट एक्स्पो २०२५ का मूख्य प्रायोजक, प्रायोजक, पार्टनर प्रवर्धक, योगदानकर्ता, एक्जिविटर्स, अवलोकनकर्ता, सहयोगीहरुमा यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रकट गर्दै विराट एक्स्पो २०२५ लाई भब्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको संगठनले जनाइएको छ ।