व्यवसाय सम्वर्धन केन्द्र र स्टार्टअप कार्यक्रम संचालन सम्झौता

  • 1 year ago
व्यवसाय सम्वर्धन केन्द्र र स्टार्टअप कार्यक्रम संचालनका सम्झौता


विराटनगर । उद्योग संगठन मोरङ  पूर्वाञ्चल विश्वविद्यालय वीच व्यवसाय सम्वर्धन केन्द्र तथा स्टार्टअप कार्यक्रमसंचालन गर्ने गरी सम्झौता भएको छ । 

सम्झौतामा संगठनका तर्फबाट स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका तर्फबाट फेकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

संगठनले विगत ३ वर्षदेखि संचालन गर्दै आएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यबाट युवाहरुलाई उद्यमशिलता रुपान्तरण र ईको सिस्टम विकास गर्ने सन्दर्भमा संघीय सरकारले उक्त कार्यक्रमलाई पहिचान गरी कार्यक्रमलाई थप बढावा दिन सरकारले यस आर्थिक वर्षको बजेटमा ७ प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम संचालन गर्न वजेट विनियोजन गरेको छ । 

हस्ताक्षर कार्यक्रममा कोशी प्रदेशको हकमा उद्योग संगठन मोरङसँग सहकार्य गरी व्यवसाय सम्वद्र्धन केन्द्र संचालन गर्नु नीजि क्षेत्रका लागि गौरवको विषय भएको संगठनका कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले बताए । उनले उद्यमशिलता विकासका सन्दर्भमा निजी क्षेत्रको प्रयासलाई संघिय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफूलाई उत्साहित बनाएको भन्दै सरकारलाई धन्यवाद दिए । 

संगठन र विश्वविद्यालय वीच भएको सम्झौता अनुरुप कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धति अनुसार नीजि क्षेत्र, शैक्षिक क्षेत्र र स्थानीय सरकारको सहकार्यमा र संघीय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय सम्वद्र्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए । उनले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिका सहकार्यमा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई थप संस्थागत गरिदै लगिने स्पष्ट पारे । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले युवाहरुलाई उद्यमशिलतातर्फ आकर्षित गर्न सम्वद्र्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकता अनुसार आगामी दिनमा परिमार्जन र परिस्कृत गरी थप प्रभावकारी बनाउने धारणा राखे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले नेपाल सरकारले युवा उद्यमशिलता प्रवर्धन गर्न सातै प्रदेशमा व्यवसाय सम्वर्धन केन्द्र र स्टार्टअप कार्यक्रम सञ्चालनका लागि कार्यक्रम बनाएको छ, उक्त कार्यक्रम कार्यान्वयनका लागि उद्योग संगठन मोरङमा सञ्चालित स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई नै थप व्यवस्थित गरी अघि बढाउन लागेको बताए । 

विश्वविद्यालयका तर्फबाट फेकल्टी अफ म्यानेजमेन्टका डिन सन्देशदाश श्रेष्ठले कार्यक्रमअन्तर्गत पहिलो चरणमा विश्वविद्यालयका विभिन्न १० वटा सम्वन्धन प्राप्त कलेजबाट ३० वटा आईडिया एक आईडियामा ३ जना रहने गरी ९० जना विद्यार्थीहरुलाई छनौट गर्ने र दोस्रो चरणमा ९० जना वाट ३० जना छनौट गरी ७ महिनासम्म सम्वद्र्धन केन्द्रको माध्यमबाट स्टार्टअप इको सिस्टमका सेवाहरु उपलब्ध गराइने बताए ।