व्यावसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी सम्मेलन

  • 1 year ago
व्यावसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी सम्मेलन

विराटनगर । उद्योग व्यावसायमा कार्यरत जनशक्तिको सुरक्षा पक्षको सुधार, सुरक्षित कार्यस्थल निर्माणमा सहयोगका साथै व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा दीर्घकालीन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश स्तरीय व्यावसायजन्य सुरक्षा र स्वास्थ्य सम्मेलन भएको छ । सो कार्यक्रमको आयोनजामा उद्योग संगठन मोरङले गरेको हो ।  

इन्स्योर परियोजना, नेपाली युवा उद्यमी मंच विराटनगर, इटहरी र झापा च्याप्टरको सहकार्यमा भएको कार्यक्रममा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग व्यावसाय क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा र उत्पादकत्व अभिवृद्धिमा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र अन्तरक्रियाबाट निष्कने निष्कर्षले प्रदेश सरकारलाई नीति निर्माण तहमा आगामी दिनमा सहयोग पुग्ने धारणा राखे । 

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा हरेक क्ष्ँेत्रमा काम गर्ने जनशक्तिको लागि अत्यन्त महत्वपूर्ण पक्ष भएको वताउदै सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र, राष्ट्रिय तथा वहुराष्ट्रिय कम्पनीहरुले संगालेको अनुभवले श्रमिकको हितमा भूमिका निर्वाह गर्ने धारणा राखे । 

अध्यक्ष सुरानाले सम्मेलनमा प्रस्तुत हुने विचारले सुरक्षित कार्यस्थल निर्माणमा उद्योगहरुमा कार्यरत जनशक्तिको कार्यक्षमतालाई दीर्घकालिन रुपमा सुनिश्चित गर्नुका साथै उद्योगको समग्र व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । 

नेपाली युवा उद्यमी मंच, सुनसरी च्याप्टरका अध्यक्ष सिद्धार्थ श्रेष्ठले कार्यस्थलमा काम गर्ने व्यक्तिहरूलाई सम्भावित जोखिमबाट जोगाउन र उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको संरक्षण गर्ने भावनाका साथ कार्यक्रम आयोजना गरिएको बताए । व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सही व्यवस्थापनले श्रमिकहरूको कल्याणमा योगदान पुर्याउनका साथै कम्पनीको दीर्घकालीन सफलता समेत सुनिश्चित गर्ने विचार उनले राखे । 

सम्मेलनमा व्यावसायजन्य सुरक्षा र स्वास्थ्यका सम्वन्धमा विशेषज्ञहरुद्धारा कार्यपत्र प्रस्तुती गर्नुका साथै राष्ट्रिय तथा वहुराष्ट्रिय कम्पनीहरुले पालना गरेका उत्कृष्ट अभ्यास, प्रचलित ऐन, कानुनले स्थापना गरेको अनुपालनहरु, अन्तर्राष्ट्रिय मापदण्डहरु, गुणस्तरीय व्यवस्थापन प्रणालीको वारेमा चर्चा गरिने संगठनले जनाएको छ । 

सम्मेलनमा सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योग प्रतिष्ठानका संचालक, व्यवस्थापक, मानव संशाधन प्रमुख, विकास साझेदार स्विस सरकार विकास सहयोग, जर्मन सहयोग, इन्स्योर हेल्भेटास,क्वालिटी एशोसिएसन अफ नेपाल, अकुपेशनल सेफ्टी एण्ड हेल्थ प्रोफेशनल नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।