संकल्प यात्राको सन्देश र अबको यात्रा
- 1 year ago
–युवराज बास्कोटा
यतिबेला नेकपा (एमाले) अध्यक्ष कमरेड केपी शर्मा ओलीको अत्यन्तै सफल र रणकौशल नेतृत्वमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा सम्पन्न भएको । उन्नाइस दिन लामो यो यात्राको विषयलाई लिएर विभिन्न कोणबाट चर्चा हुने गरेको पाइन्छ । एमालेविरुद्ध खनिएको ‘कम्फरटेबल’ गठबन्धन सरकार र सरकार संरक्षित सञ्चारमाध्यमबाटका कतिपय चर्चा परिचर्चा प्रायोजित छन् नै । कतिपय चर्चा परिचर्चा परिसम्वाद जस्ता मात्र पनि छन् । कसैले यसलाई व्यङ्ग्यको अर्थमा लिएका छन् त कसैले खिसिट्युरीमा पनि ।
नेपाली समाजमा बढ्दो निराशाको खेती, आशाभन्दा पनि उदासिनताको बढ्दो अभ्यास र जाग्दो नकारात्मक प्रभावसामु बजारमा उठ्ने र हुने गरेका चर्चा परिचर्चालाई व्यक्तिको बुझाइ र विषयगत योग्यताका आधारमा बुझ्न वाञ्छनीय हुनेछ ।
यात्राको सैद्धान्तिक जग
पार्टीको सम्पन्न पाँचौँ केन्द्रीय कमिटीको बैठकले कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्षको अवसरमा निर्माणकालका महासचिव कमरेड पुष्पलाल श्रेष्ठको चीरस्थायी सम्मानमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको बेला निर्माण आरम्भ गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्गमा पदयात्रा गर्ने, पुष्पलालमा समर्पित श्रद्धा पार्टीको अग्रसरता विकास–निर्माणमा केन्द्रीत गर्ने र समृद्ध राष्ट्र निर्माणको अविभारा पूरा गर्न नेकपा (एमाले) यो देशको अजेय शक्ति हो भन्ने सन्देश प्रवाह गर्ने निर्णय गरेसँगै आवश्यक तयारी आरम्भ भएको थियो ।
विगतमा सम्पन्न ऐतिहासिक मेची–महाकाली यात्राबाट प्राप्त अनुभव र अग्लो शिक्षा लिँदै यो यात्रा तय गर्नु र तय गरिएको यात्रा पूर्ण गर्नु निकै कठिन थियो । कम्युनिष्ट विरोधी देशी–विदेशी शक्तिको सक्रियतामा उब्जेको चौतर्फी घेराबन्दीको शिकार भएको एमालेका लागि व्यापक जनसमर्थनबाहेक केही पनि अनुकूल छैन । कतिपय व्यापारिक व्यावसायिक मति र गति भएका व्यक्तिदेखि लिएर समाजमा साम्प्रदायिक अन्तरविरोध सिर्जना गर्न उद्धत शक्तिहरू पनि एमालेको संगठनात्मक पहुँच र पकडविरुद्ध धावा बोल्दै सडकमा उत्रिएका बेला सम्पन्न यो यात्राले दिने सन्देशलाई सञ्चय गर्नु निकै कठिन कार्य थियो । नेतृत्वको बुद्धिमतापूर्ण कदमबाट यो बठिन कार्य पनि सहजै सम्भव भएको छ ।
नेपालको राजनीतिक मानचित्रमा दक्षिणस्थित मित्रशक्तिको यदाकदा च्वास्स घोच्ने छुचो र ननिको प्रभावका हिसाबले रणनीतिक महत्त्व रहेको यो पुष्पलाल मध्यपहाडी सडक अद्यापि पूर्णतः सुविधासम्पन्न बनिसकेको छैन । अधिकांश खण्डमा कालोपत्रे भएको, कहीँं ग्राभेल भएको र कहीं ट्रयाक मात्रै खोलिएको अवस्था छ । सडक निर्माण कार्यको आरम्भ गर्ने पार्टीले यसका अधुरा अपुरा कार्यभारहरू पूरा गर्ने संकल्प गर्नु पनि अनिवार्य थियो । समावादउन्मुख समाजको आधारशीला निर्माण गर्न र समग्रमा यसको मुहार फेर्न स्थानीय सम्पदा र विशेषताहरू सम्हालेर बसेको ग्रामीण जनमतसँग एमालेले अघि सारेका कामहरू मध्ये अधुरा र अपुरा कार्यभारहरू पूरा गरिछाड्ने संकल्प गर्दै यात्रा अघि बढेको थियो ।
पहाडी क्षेत्रमा उपलब्ध मानवमैत्री स्रोतसाधन र पूर्वाधार विकासको स्थलगत अवलोकन गरेर पहाडबाट हुने बसाइसराइको प्रवाहलाई न्यूनीकरण गर्ने विषयमा अध्ययन गर्नु र प्राप्त सुझावको दस्तावेजीकरण गर्नु यात्राको मुख्य उद्देश्य थियो । यस यात्राले मध्यपहाडी क्षेत्रका प्रकृतिप्रेमी मानव जीवन र बस्ती विकासको भविष्य र समृद्धिको आधार सूचक उजागार गरेको छ ।
अपूर्व नेतृत्व क्षमता
उमेर समूहका हिसाबले औसत अग्रणी उमेर ७०÷७२ वर्षको व्यक्ति पार्टी अध्यक्ष केपी ओलीले २०÷२२ वर्षको भरिलो लक्काजवान, तन्नेरीजस्तो भएर १९ दिने यो अभियानको नेतृत्व गर्नुभएको छ । राजनीतिक रणकौशल योग्यता र सक्रियताका साथ हामी छोरानाति उमेर समूहकालाई चुनौती दिँदै उम्दा गतिका साथ अध्यक्षले यसको सफल नेतृत्व गर्नुभएको छ ।
साधारण अवस्था मात्र होइन, असाधारण स्वास्थ्योपचारको अवस्थाको यो सक्रियता जीर्ण भएर बाँच्नु हुने श्रद्धेय अध्यक्ष कमरेडका लागि कति हितकर छ तर हाम्रा लागि भने गौरव गर्न लायक अर्को एउटा प्रेरणाको स्रोत बनेको छ । दुई–दुईपटक मिर्गौला फेरेको यथार्थ हुँदाहुँदै उहाँको सक्रियतामा गुमनामझैँ छ यतिबेला । ठिहीले कट्कटी खाने मध्यजाडोको समयमा सार्वजनिक भेटघाट र जनसंवादमाथिको सम्बोधनको क्रम कुनै प्रवाहबिना व्यतित भएको छ । साँझ, बिहान अनि राति नभनी दैनिक सयौं किलोमिटर यात्रा उत्तिकै सक्रियताका साथ गर्नुभएको छ ।
मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट आरम्भ भएको यात्रा मध्यपहाडी २४ जिल्लामा केन्द्रित भएर अगाडि बढेको यो अभियान २ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिएको छ । यो यात्राको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङ हो ।
यात्राको अर्थराजनीति
राजनीतिक आदर्श, क्रान्तिकारी गफ, राजनीतिक दाउपेच, सरकार गठन–विघठन, फगत चुनावी मुद्दा, जनतालाई आश्वस्त पार्ने गुलिया र मीठा प्रतिवद्धताबाहेक कार्यक्रमिक र कार्यनीतिक रूपमा अघि सारिएका विषयवस्तुलाई वस्तुपरक कार्यान्वयनको तहमा दलहरू अहिलेसम्म नओर्लिएको स्थितिमा एमालेले सत्तामा रहँदा होस् वा प्रतिपक्षमा आफ्ना घोषित प्रतिबद्धताहरू पूरा गर्न तयार छ भन्ने विषयमा गम्भीरतापूर्वक छलफल चलाएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रामार्फत नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न र सुतेको शक्तिलाई जनापेक्षित गतिमा जगाउन सफल भएको छ । राष्ट्रिय राजनीतिमा नयाँ र फरक ढंगले छलफल र बहस चलाएको छ । पछिल्लो समय जन्मेका नयाँ जोगीले पुरानालाई विस्थापन गर्न अलिक बढी खरानी घस्ने गरेको यथार्थसामु एमालेले आफूलाई निर्विघ्न, निर्भीक र निर्विकल्प शक्तिको रूपमा उभ्याएको छ । नेपाली समाजमा आशाको दीप जलाएको छ, पृथक मूल्यका साथ रक्तसञ्चार गराएको छ । अब समाजमा उल्झिएका सस्याना मुद्दाभन्दा बाहिर जिम्मेवार जो कोही पनि जान सक्दैन, समाज रुपान्तरणको मुद्दासँग स्थानीय पार्टी कमिटी र निर्वाचित जनप्रतिनिधिलाई उभ्याएको छ । यसलाई सजह सुल्झाउन सम्बन्धित सबैलाई थप जिम्मेवारी बोध गराएको छ । जनप्रतिनिधि, पार्टी कमिटी र कार्यकर्ता पंक्तिलाई जनसरोकारका मुद्दामा नजिकैबाट जोडेको छ ।
जनसंवादमा स्थानीय नागरिकको उपस्थिति सोचेभन्दा कैयौं गुणा बढी देखिएको थियो । जनसम्वादमा आएका मानिसको अनुहारमा छाएको आभा हेर्दा उनीहरुको अनुहारमा उत्साह भेटिनुले एमालेको भूमिकाको प्रभावकारिता मात्र पुष्टि गरेको छैन सँगै नागरिकमा समाजको र स्वयं नागरिकको समृद्ध भविष्य निर्माणप्रतिको आशा जगाएको छ भन्न सकिन्छ ।
सम्भाव्यताका दृष्टिकोणले यात्राको क्रममा स्थानीय उत्पादन, उत्पादनको आधार, नागरिकको बसोबासको प्रकृति, विविधतामा खँदिलो एकतापूर्ण जनजीवन, यस निमित्त हुर्र्किएका ऐतिहासिक विशेषताहरू, सामाजिक–सांस्कृतिक पक्षहरूको सूक्ष्म अध्ययनले एमालेलाई बलियो बनाएको छ । अर्थराजनीतिक महत्वका दृष्टिकोणले पार्टीको सैद्धान्तिक आलोक, राजनीतिक र संगठनात्मक कार्य, आन्तरिक व्यवस्थापन र गति निर्माणका लागि पनि प्रशस्तै उर्जा प्राप्त भएको छ । काठमाण्डौँ बसेर ग्रामीण जनजीवनले झेलेका समस्या चिन्न र चिर्न सकिन्न । समाजलाई यहाँको वस्तुगत आधारमा वैज्ञानिक व्यवस्थापन गर्नुपर्छ र समुदायलाई समेत तिनले झेलेका मुद्दामामिलामा आधारित रहेर तदानुकूल गतिका साथ अघि बढ्नुपर्छ भनेर स्वयंमा सक्रियता बढाउँदै आशावादी बनाउने काम गरेको छ ।
नेपाली विशेषताका आधारमा निर्धक्क उभिन नसकेको नेपालको राजनीतिप्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई स्वागत र सम्मान मात्र गरेका छैन, बरु एकदमै सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन् । यात्राका क्रममा सर्वदलीय र सर्वपक्षीय जनसहभागिता जुटाएका छन्, सर्वदलीय र सर्वपक्षीय महत्वका साथ स्थानीय नागरिकले एमाले नेतृत्व समक्ष ज्ञापनपत्र बुझाएका छन् । एमालेविरुद्धको विषबमन र जनमतमा फैलाइएको निराशालाई उत्साहमा परिणत गर्न यो यात्रा कोशेढुंगा सावित भएको छ ।
सामाजिक–सांस्कृतिक सद्भावको पक्ष
यत्रतत्रको भीड हेर्दा लाग्दथ्यो– यो यात्रा एउटा सामाजिक–सांस्कृतिक सम्मिलन हो, एउटा बहृत्त महोत्सव । लोपोन्मुख भाखा, भाका, लयमा नागरिकको प्रस्तुति र गर्विलो उपस्थितिले नेपाली समाज सामाजिक–सांस्कृतिक महत्वका हिसावले संसारको धनी सम्पदा हो भन्ने पुष्टि गरेको छ । ससाना बालबालिकादेखि लठ्ठि टेकेर कार्यक्रमस्थलमा पुग्नुहुने ज्येष्ठ नागरिकसम्मको पंक्ति एमालेको भनाइ सुन्न आतुर भएको अनुभूति हुन्थ्यो ।
यात्राले स्थानीय मौलिक संस्कृतिलाई राष्ट्रियकरण गर्ने काम पनि गरेको छ । लोपोन्मुख र गुमनाम मध्यपहाड क्षेत्रमा रहेका मौलिक संस्कृति यहाँको पृथक परिचयको मानक रहेछ भन्ने कुरा विभिन्न खालका झाँकीबद्ध उपस्थिति र प्रस्तुतिबाट प्रकट भएको छ । तराईमा रहेको सांस्कृतिक विविधितमा मध्यपहाडी संस्कृतिको विविधताको समिश्रण जरुरी छ भन्ने बोध गराएको छ यो यात्राले । समिश्रित सम्पदा साँचो अर्थमा नेपालको विकसित परिचयका रूपमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक छ भन्ने तथ्य जगजाहेर भएको छ । यसले नेपाली नेपाली माझ खँदिलो एकताको आधार तयार गर्न थप मलजल गरेको छ, उर्जा भरेको छ ।
मूलतः यात्राका क्रममा एमाले अध्यक्ष केपी आलीप्रतिको रुझान, आकर्षणता अभूतपूर्व सांस्कृतिक महत्वका हिसाबले प्रकट भएको छ । हिजो चुनावताका अरुलाई समर्थन जनाइयो, भोट अरुलाई हालियो, अब त यो गल्ती किन पो गरिन्छ र ? भनेर थकथक मान्ने मानिसको भीडले एमालेलाई निर्विकल्प शक्तिका रुपमा सावित गरेको छ । च्वास्स चुस्कीमा फुर्ति लगाउने, क्षणिक सनकमा रमाउने र फुर्तिलाई बजारमा साट्न हतारिने एउटा कथित बौद्धिक जमात, कलमबाज र लेखनशिल्पकारीले एमाले र एमाले नेतृत्वको जुनसुकै अक्षरमा आलोचना गर्ने गरेको भए पनि ग्रामीण परिवेशमै रैथाने दिनचर्याका साथ रमाउन चाहने जनताले एमालेलाई हेर्ने, बुझ्ने र ग्रहण गर्ने दृष्टिकोण फरक भएको यसपटक सचित्र देख्न र भेट्न पाइएको छ ।
अतिवादी भड्काउविरुद्ध यात्रा
इतिहासमा प्रायशः व्यवस्था परिवर्तनका लागि संगीन लडाइँ लड्दै आएका नेपाली नागरिकले आफ्नो बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई मासेर फेरी राजतन्त्र ब्युँझाउन चाहने स्वार्थनिहित गतिविधिलाई यात्राले एक हदसम्म खारेज वा निस्तेज गरेको छ । यसनिमित्त अपनाइएका अस्त्रस्वरुप समाजमा अस्थिरता ल्याउने, अराजकता मच्चाउने, सामाजिक सद्भाव भड्काउने खालका गतिविधिलाई गत्तिलो झापड दिएको छ । अर्थात्, यात्रामा केही शक्ति प्रेरित व्यक्तिको उक्साहटमा पहिचानका नाममा समाजमा तिक्तता फैलाउन खोज्ने, धर्म, सँस्कृति, भाषा, भूगोल तोडन चाहनेविरुद्ध सबै मनहरू एक ठाउँमा उभिएको देखियो ।
बीचबीचमा अवरोध सिर्जना गर्ने, बाटामा ढुंगामुडा पल्टाउने, बाटो उधिन्ने र भत्काउने, रुखबुटा काटेर लम्पसार पार्ने, ठाउँठाउँमा काला टाला देखाउने आदि गरे पनि त्यस्ता शक्तिलाई बेवास्ता गर्दै मानवसागर बनेर उर्लंदो उपस्थितिले अतिवादी भड्कावलाई गत्तिलो झापड दिन सफल भएको छ यो यात्रा । अर्थात् तिनका अवरोधलाई उछिन्दै एमालेको जनसंवादमा जुट्नुले पनि नागरिक अभिमत तिनको विपक्षमा रहेको प्रस्टसँग देखिएको छ ।
एमालेको पक्षमा दृढ रहेको जनताको अजेय शक्तिलाई एमालेले यसपटक घरघरै पुगेर आफ्नो अभियानमा जोडेको छ । लुटाहाविरुद्ध राष्ट्रशक्ति निर्माणमा एमालेको भूमिकाबारे जनतालाई प्रशिक्षित गरेको छ । यसबाट नेपाली राजनीतिमा पुलपुलिएको बाह्यप्रभाव छर्लंङ भएको छ । लोकतन्त्र कसैको कम्फरटेबल संरचना निर्माणका लागि होइन, बरु लोकतन्त्रप्रति प्रतिबद्ध नेपाली जनतालाई सर्वशक्तिमान बनाउने माध्यम हो भन्ने कुरालाई समेत यस यात्राले जबरजस्त पुष्टि गरेको छ ।
उपसंहार
औषधीय गुण भएको जल, जमिन, जडिबुटी, जीवजन्तु, जलाधार, जलवायु आदिले भरिपूर्ण पहाडी क्षेत्रकेन्द्रित यस भ्रमणले राष्ट्रिय राजनीतिलाई बलियो बनाउने, भ्रमको खेती गरी नेपाल र नेपालीविरुद्ध अफवाह फैलाउनेविरुद्ध सकारात्मक तरंग सिर्जना गरेको छ । स्थानीय उत्पादनबाट समृद्धिको आरम्भबिन्दु पहाडी भूभाग हुने सुनिश्चिय गर्दै परम्परागत उत्पादन र बजार प्रणालीलाई व्यावसायिक बनाउनेतर्फ सबैको ध्यानाकर्षण गरेको छ ।
चुनावतामा मात्र होइन अरु बेला एमाले नेतृत्व घरघर आएको कुराले जनमत जागृत भएको छ । मध्यपहाडी संकल्प यात्राले ग्रामीण जनजीवन सहित रैथाने परिवेशमा बाँचेको जनतासँग एमालेको सम्बन्धलाई नङ र मासुजस्तै निकट बनाएको छ । एमाले कमजोर बनेको छैन भन्ने सन्देश दिननुका साथै देशको विकास र सम्मृद्धिका लागि एमालेबाहेक अर्को शक्ति छैन भन्ने विषयमा जनविश्वास कमाएको छ ।
एमालेमा यतिबेला राजनीतिक–बैचारिक मुद्दाको निक्र्यौल, यसलाई बोक्ने नीति, परिचालनको लागि स्थापित नेतृत्व, निर्दिष्ट संगठन, संगठनात्मक गन्तव्य आदिका हिसाबले एकमत छ । फरक मत र तिक्तता होइन परस्परमा खँदिलो मेलको आवश्यता छ । यो अभियानबाट प्राप्त उर्जा, मनोबल र आत्मविश्वासका साथ आन्तरिक एकताका साथ अगाडि बढ्न सक्दा मिसन ८४ एमालेको एकल बहुमत प्राप्तिको मिसन हुने निश्चित भएको छ ।
अबको चुनावी प्रतिबद्धतापत्र लेखनमा मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायत पक्षको अध्ययन र व्यवस्थित कार्यान्वयनको तहमा जान यस यात्राले मानक स्थापित गरेको छ । राजनीतिक महत्त्वका साथ दिशानिर्देश गरेको छ । यात्राले मध्यपहाडको मौलिक पहिचानलाई जुरुक्क उठाएको मात्र छैन, यहाँको पहिचानलाई राष्ट्रियस्तरमा संगठित ढंगले चिनाउने काम पनि गरेको छ ।
( लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । संकल्पयात्रामा रामेछापको मन्थलीबाट नेता विनोद ढकाल, रामलाल शाह, रुपेश खतिवडासँगै जोडिनु भएका बास्कोटाले स्थलगत भ्रमणमा रहँदा देखिएको पक्षलाई समेटेर यो संस्मरणात्मक लेख तयार गर्नुभएको हो ।)