आर्मी एमएम कप क्रिकेटको फाइनल प्रवेश

  • 1 year ago
आर्मी एमएम कप क्रिकेटको फाइनल प्रवेश


विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको समुह ए अन्तर्गतको अन्तिम लिग खेलमा आर्मीले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको  छ ।  

लगातार दुई खेलमा जित हात पार्दै आर्मीले फाइनलको यात्रा गरेको हो । पहिलो खेलमा एपिएफलाई ३ विकेटले पराजित गरेको थियो । जितसँगै आर्मीले ४ अंक जोडेको छ भने  एपिएफले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ दोस्रो स्थानमा र बागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै अंक विहीन भयो । 

आइतबार राति वर्षा भएपछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङ गरेको बागमतीले २४ दशमलव ३ बलमा सबै विकेट गुमाई ९६ रनको सामान्य योगफल खडा गरेको थियो । बागमतीका कप्तान सिचिन लेखकले २४ रन बनाउँदा प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन केनन् । आर्मीका प्लेयर अफ म्याच नरेन राउदले ६ ओभरमा २७ रन दिएर ५ विकेट लिँदा दुर्गेश गुप्ताले २ विकेट लिए ।

जवाफमा ९७ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १७ दशमलव ३ बलमा ५ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । आर्मीको जितमा निश्चल क्षेत्रीले ४६ रनको योगदान दिँदा हिमाञ्सु दत्तले १८ रनको योगदान दिए । बागमतीका दयानन्द मण्डलले २ विकेट लिँदा तिलकराज भण्डारी र आदिल खानले १–१ विकेट दिए ।
मंगलबार समूह वि को हिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लव बिच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।