गीति एल्बम ‘आमा मेरी आमा’ विमोचन

  • 2 years ago
गीति एल्बम ‘आमा मेरी आमा’ विमोचन


काठमाडौँ, २७ साउन २०८०। साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल, साहित्यकार डा. रेनुका सोलु, शुभ मुकारुङ्ग, विश्व बल्भव, गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापाले एकसाथ सिडी देखाएर विमोचन गरेका हुन् ।

लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी थिइन् । गीतकार दिलीप योञ्जनले आफ्नी स्वर्गिय माता पासाङ्ग डोल्मी तामाङ्ग प्रतिसमर्पित भएर रचना गरिएको एल्बममा ७ वटा गीतहरु रहेका छन् । मातृस्नेह ,जीवन भोगाई, अध्यात्म दर्शन र जागरण भावलाई गीतमा समेटिएको छ ।

साहित्यकार डा. रेनुका सोलुले विमोचित एल्बमको समिक्षा गरेकी थिइन् । सोलुले साहित्यकार दिलीप योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाज सेवाको क्षेत्रमा पुर्याएको योगदान अमूल्य रहेको बताइन् । आमालाई श्रद्धाञ्जली स्वरुप समर्पण गरिएको गीतमा मातृभूमी र आमाको कर्मबाट आफू सफल भएको कुरालाई गीतमा समेटिएको बताइन् ।

बरिष्ठ गीतकार कृष्णहरि बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पुर्याएको योगदानलाई आमनागरिकले भुल्न नहुने बताए । योञ्जनका हाल सम्म ६ वटा गीति संग्रह बजारमा आएका छन् । आगमन, अविरल, अमर, मान्छेको भिडमा, आस्था खोजीरहेको छु, अनुराग जस्ता एल्बमले नेपाली संगीतप्रेमी एवम साहित्य अनुरागी मनहरुलाई आनन्दित बनाएको उनले बताए । 

एल्बममा राजेश थापा र डिवी लामाको संगीत रहेको छ । साथै सुरेश लामा , प्रवीण बेडवा , श्रेयसी चेम्जोङ्ग , शुभ तामाङ्ग, सुनिता लो, सुमिना लो र अन्जु लामाको स्वर रहेको छ ।


कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैमा सशक्त गीतकार रहेको दावी गरे । मौलिक सिंर्जना र नेपाली माटो प्रतिको प्रगाढ स्नेह उनको गीतमा भेटन सकिने दावी गरे । 

एल्बमका गीतहरु सङ्गीत तथा रेकर्डिङ दौरानको प्रसङ्गबारे बोल्दै संगीतकार थापाले दिलिप योन्जनको शालिनता, परोपकारी भावना र सधै सही र सत्यको मार्गमा अडिग रहने स्वभावबाट आफू अत्यन्तै प्रभावित त नतमस्तक रहेको र यसअघि पनि गीतकार योन्जनको एकल रचना र आफ्नो एकल संगीतमा दुई वटा गीति एल्बम प्रकाशनमा ल्याएको बताए ।


कार्यक्रमका विषयमा गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार दिलिप योञ्जनद्धारा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए । कार्यक्रममा साहित्यकार, गीतकारहरु, गायक गायिकाहरुको बाक्लो उपस्थिीती रहेको थियो ।