‘विराटनगरको इज्जत राख्न लोकसेवामा नाम निकाल्नु पर्छ’

  • 3 years ago
‘विराटनगरको इज्जत राख्न लोकसेवामा नाम निकाल्नु पर्छ’


विराटनगर, १५ असार २०८०। विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा शब्द सरोबर प्रालिले आयोजना गरेको १५ दिने लोकसेवा तयारी कक्षा तालिम र नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको संयुक्त कार्यक्रम गरी समापन गरिएको छ । लोक सेवा तयारी कक्षा असार १ गतेदेखि सुरु गरिएको थियो भने आधारभूत रेडियो उद्घोषण तालिम ७ गतेदेखि सुरु गरिएको थियो । 

समापन समारोहलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीसमक्ष आग्रह गरे । उनले विभिन्न तालिमका माध्यमबाट विराटनगरका युवाहरुलाई स्वरोजगार बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । मेयर कोइरालाले रेडियोको महत्व कहिल्यै नघट्ने उल्लेख गरे । 

विराटनगर हरेक हिसाबले पछि परेकोले कम्तिमा पनि पहिलेको साख जोगाउन सबै मिलेर लाग्नुपर्ने बताउँदै मेयर कोइरालाले विराटनगरका युवाले कम्तिमा पनि लोकसेवामा आफ्नो नाम निकाल्न सफल भए यहाँको इज्जत बढ्ने थियो र गौरव गर्न सकिन्थ्यो भने । 

वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले चालु आर्थिक वर्ष स्वरोजगारमूलक विभिन्न ६ वटा तालिम सञ्चालन गरेको बताए । उनले लोकसेवा तयारी कक्षा, जुत्ताचप्पल, अचार, रेडियो उद्घोषणलगायतका तालिम सञ्चालन गरेको जानकारी दिए । वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले रेडियोको उपादेयता कहिल्यै नघट्ने दाबी गरे । उनले सुन्ने माध्यम र तरिकामा परिवर्तन भए पनि रेडियोको महत्व सधैं रहने स्पष्ट पारे । 

कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष मोहन भण्डारी, शब्द सरोबरका अध्यक्ष तथा वरिष्ठ पत्रकार यज्ञ शर्मा, प्रेस इन्स्टिच्यूटका प्रदेश संयोजक वीरेन्द्र शर्माले तालिमको उद्देश्यलगायतका विषयमा केन्द्रित रहेर मन्तव्य राख्खेका थिए । 

कार्यक्रममा शब्द सरोवर प्रालि विराटनगर–११ ले आयोजना गरेको १५ दिने लोकसेवा तयारी कक्षाको समेत समापन गरिएको थियो । कार्यक्रममा सहभागिताका तर्फबाट कविता पोखरेल, उपेन्द्र काफ्ले, इसु पन्त, भलि सुब्बा, प्रेमकला डाँगीले तालिम उपलब्धिमूलक भएको भन्दै आ–आफ्ना अनुभव सुनाएका थिए । एक जना प्रशिक्षार्थीलाई बीएफएमले रोजगारी दिने भएको सो एफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठलेजानकारी दिए । 


सोही क्रममा मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाइमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रण अभियानमा साथ दिन महानगरवासीसित आग्रह गरे । उनले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नगर्ने प्रस्ट पारे । 

उनले पछिल्लो समय विराटनगरको पहिचान गुम्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । विराटनगरको नयाँ पहिचान खोजी गर्नुपर्नेमा उनले जोड थियो ।