विद्युतीय फोहोर व्यवस्थापनले मानव स्वास्थ्य जोखिममा
- 2 years ago
विराटनगर, १० असार,२०८० । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताए । आइतबार नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताए ।
उनले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राखे । विद्युतीय, मेडिकलजन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौतिपूर्ण रहेको कोइरालाको भनाइ छ । विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थापन गरिंदै आएको र यसरी गरिने फोहोर व्यवस्थापनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताए ।
उनका अनुसार इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामानहरूमा हुने विभिन्न खालका एसिडहरूले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् । यस्ता एसिड र केमिकलहरू भएका उपकरणको उचित व्यवस्थापन नगरे मानिसलाई क्यान्सरको जोखिममा पार्ने उनको भनाइ छ । विद्युतीय फोहोर व्यवस्थापनका लागि आयातकर्ता, विक्रेता , प्रयोगकर्तादेखि सरकारसमेत जिम्मेवार बन्नुपर्ने उनको सुझाव छ । ‘इ वेष्ट म्यानेजमेन्ट’का लागि छुट्टै ऐन निर्माणको आवश्यकता ठानेर नेपाल दूरसञ्चार प्राधिकरणले सुझाव संकलनसमेत थालेको अर्यालले बताए ।
महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख बावुराम तिम्सिनाले इलेक्ट्रोनिक सामाग्रीको प्रयोग पछिको व्यवस्थापन जटिल बन्दै गएको बताए । महेन्द्र मोरङ क्याम्पसमा पनि यस्ता सामग्रीहरू धेरै प्रयोग हुने गरेको तर त्यस्ता सामग्रीको व्यवस्थापनका लागि नेपालमा आवश्यक पूर्वाधार नहुँदा पुराना धातुहरू सरह कवाडीलाई बिक्री गर्ने गरिएको उनले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले इ वेष्ट म्यानेजमेन्टका लागि आवश्यक पूर्वाधार तयार गर्न जरुरी रहेको बताए । उनले पुराना विद्युतीय सामग्री संकलन गरेर पुनः प्रयोगका लागि रिसाइकल गर्ने विषयमा उद्योग संगठन मोरङ सरकारसँग साझेदारी गर्न तयार रहेको धारणा राखे ।
कवाडी व्यवसायी महासंघ मोरङका अध्यक्ष नुर मियाँले पुराना विद्युतीय सामग्री संकलन गरेर रिसाइकलका लागि भारत पठाउने गरिएको बताए । नेपालमा पुराना विद्युतीय सामाग्रीको रिसाइलक गर्ने पूर्वाधार नभएका कारण कवाडीका रुपमा भारत निकासी गरिंदै आएको मियाँले जानकारी दिए ।
कार्यक्रममा कम्प्युटर एशोसिएसन मोरङका सचिव अजित चापागाई, मोवाइल बितरण संघ मोरङका अध्यक्ष हरिप्रसाद उप्रेती विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले अवस्था भयावह हुनु भन्दा पहिलै सबैको संयुक्त प्रयासमा विद्युतीय फोहोरको व्यवस्थापनको काम थाल्नु जरुरी रहेको धारणा राखे ।