महानगर रोजगार मेलामा स्टाप नर्सको माग
- 1 year ago
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ ।
विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिए ।
विराटनगर महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ ।
दुईदिने मेलाबाट ३ सयभन्दा बढी युवायुवतीले रोजगारी प्राप्त गर्ने मेयर कोइरालाले बताए । ‘२०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएका थिए, उनले भने, ‘यस वर्ष ४ सय जनाभन्दा बढी बेरोजगार युवाले रोजगार प्राप्त गर्ने हाम्रो अनुमान छ ।’
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवालाई एउटै थलोमा राखेर पुलको काम महानगरपालिकाबाट भएको बताइन् ।
‘महानगरपालिकाले हरेक वर्ष रोजगार मेला आयोजना गर्ने गरेको छ,’ उनले भने, बेरोजगारलाई रोजगारी सिर्जना गर्न, बेरोजगार र रोजगारदाताको बीचमा सम्बन्ध स्थापित गर्नका लागि पनि मेलाको महत्वपूर्ण छ ।’
इनरुवा नगरपालिकाका उपमेयर विनिताकुमारी मेहता, विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ३ का वासुबहादुर बस्नेत, १० का अर्जुन गिरी, १९ का श्याम घिमिरेलगायतको उपस्थितिमा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनुपर्ने बाध्यता विद्यामान रहेको उल्लेख गरे ।
‘अहिले पनि बजारमा दक्ष जनशक्तिको अभाव छ,’ उनले भने, ‘यस क्षेत्रका उद्योगमा प्राविधिक जनशक्तिको अभाव छ । जहाँ विदेशी जनशक्तिले काम गरिरहेका छन् ।’
विराट व्यापार संघका उपाध्यक्ष शरद श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलालगायतले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगार प्राप्त गर्दै आएको बताए । ३० वटा बढी स्टल रहेको रोजगार मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगारदाताले युवा जनशक्तिसँग परामर्श गर्नेछन् ।
यसैबीच, मेलामा सबैभन्दा बढी स्टाप नर्सको माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए । नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट १ सयभन्दा बढी स्टाप नर्सको माग आएको थापाले बताए ।
उनका अनुसार स्टाप नर्सपछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ । स्टल राखेका सबै रोजगारदाताबाट ४ सयभन्दा बढीको माग आएको छ । त्यस्तै २ हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।
गत वर्षको मेलामा ३२ वटा स्टल समावेश गरिएको थियो भने १९७ जनाले रोजगारी प्राप्त गरेका थिए । ३ हजार २ सयले मेलाको प्रत्यक्ष अवलोकन गरेका थिए । यस वर्षको मेलामा ५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको थापाले जानकारी दिए ।