महावीर पुन विष्णुमाया पुस्तकालयद्वारा सम्मानित
- 1 year ago
विराटनगर, १७ चैत, ०८१ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा कृषि औजार कारखाना वीरगञ्जका सञ्चालनका अभियन्ता वैज्ञानिक डा महावीर पुन विष्णुमाया पुस्तकालयद्वारा शनिबार सम्मानित भएका छन् ।
पुस्तकालयले एक कार्यक्रमको आयोजना गरी डा पुनलाई सम्मान गरिएको हो । उनलाई पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले सयपत्री फूलको माला लगाएर स्वागत एवं सम्मान गरेका हुन् । डा पुनको समर्पित सामाजिक जीवन, निस्वार्थ र पवित्र भावनाले सामाजिक सचेतना अभियानलाई सहयोग पुगोस् भनेर उहाँलाइृ सम्मान गरिएको विष्णुमाया पुस्तकालयका अध्यक्ष गौतमले बताए । त्यसैले उहाँलाई विष्णुमाया सामुदायिक भवनमा निःशुल्क खानेबस्ने व्यवस्था गरिएको अध्यक्ष गौतमको कथन थियो ।
सम्मानपछि डा पुनले पुस्तकालयप्रति आभार व्यक्त गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । उनले भने ‘मैले वीरगञ्जमा कृषि कारखाना सञ्चालन गर्न अरु कुनै उपाय नभएपछि आफैले लेखेको पुस्तक बिक्री गरेर रकम संकलन गर्ने काम गरे हुँ ।’ ‘मैले किताब बेचेर आफू धनी बन्न नभई नेपाली किसानलाई सस्तो दरमा कृषि औजार उपलव्ध गराउने र उनीहरुको दुःखमा साथ दिने उद्देश्य राखेको हो ।’
कार्यक्रममा डा पुनको असल कार्यप्रति शुभेच्छा राख्दै प्राध्यापक कृष्ण पोखरेल, वुद्धिजीवीद्वय दिनेश श्रेष्ठ र एकराज भट्टराई, हरियाली समूहका अभियान्ता पारुल क्षेत्रीलगायतले शुभकामना दिएका थिए ।
सम्मान कार्यक्रमपश्चात डा पुनद्वारा लिखित सम्झना, सपना र अविरल यात्रा नामको १०० थानभन्दा बढी पुस्तकहरु विक्री भएको पुस्तकालय कार्यसमितिका सदस्य एवं कार्यक्रमका उद्घोषक डा चन्द्र उपाध्यायले जानकारी दिए ।
पेन्सनले किताब खरिद
यसैक्रममा मोरङ सुनवर्सी नपा–३ का नारायण जोशीले आफ्नो एक महिनाको पेन्सन बराबरको रकमबाट पुस्तक खरिद गरेका छन् । उनले खरिद गरिएको किताब विद्यार्थीलाई निःशुल्क उपलव्ध गराउने जानकारी दिए । त्यस्तै रंगेली नगरपालिका–३ का दलबहादुर काफ्लेले धेरै संख्यामा किताब खरिद गरेर १२ थान विष्णुमाया पुस्तकालयलाई निःशुल्क हस्तान्तरण गरेका थिए । कार्यक्रममा उपस्थित धेरै जनाले एकभन्दा बढी किताब खरिद गरेका थिए । किताब खरिदसँगसँगै धेरैले डा पुनसँग तस्वीर खिचाएका थिए ।