मेयर कोइरालाद्वारा विद्यालय अनुगमन

  • 1 year ago
मेयर कोइरालाद्वारा विद्यालय अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–६ बह्रमपुरास्थित धरणीधर आधारभूत विद्यालयको अनुगमन गरेका थिए । 

वडाध्यक्ष हरिशचन्द्र सहनीलाई साथैमा लिएर पुग्नुभएका मेयर कोइरालाले शिक्षक र विद्यार्थीसित अन्तरक्रियासमेत गरेका थिए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताउँदै मेयर कोइरालाले परिणाम देखिने गरी काम गर्न प्रधानाध्यापक र शिक्षकहरुलाई निर्देशन दिएका थिए । 

विद्यालयको भौतिक संरचना निर्माण महानगरले जिम्मा लिने बताउँदै मेयर कोइरालाले शैक्षिक गुणस्तर वृद्धिको जिम्मा शिक्षकहरुले लिनुपर्नेमा जोड दिए । तल्लो तहदेखि नै गुणस्तर वृद्धि गर्न सकिए माथिल्लो तहमा नतिजा राम्रो आउने उनको भनाइ थियो । मेयर कोइरालाले प्रअ र शिक्षक जिम्मेवार र इमान्दारीपूर्वक लागिपरे गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे । 

महानगरले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान कार्यलाई निरन्तरता दिइरहेको कोइरालाले जानकारी दिए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगर लागिपरेको उनको भनाइ थियो । वडाध्यक्ष सहनीले सो विद्यालयको भौतिक संरचनासँगै गुणस्तर वृद्धिमा वडा लागिपरेको जानकारी दिए । 

मेयर कोइरालाले महानगरले निर्माण गरेको नवनिर्मित विद्यालय भवनको समेत अवलोकन गरेका थिए । सो क्रममा प्रअ, शिक्षक र विद्यार्थीले मेयर कोइरालालाई स्वागत गरेका थिए । 

विद्यालयमा १९४ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ खेम निरौलाले जानकारी दिए । प्रअ निरौलाले विद्यालयमा डुबानको समस्या रहेको बताए । उनले महानगरले नयाँ भवन बनाइदिएपछि वर्षाको समयमा पनि पठनपाठनमा सहज भएको उल्लेख गरे ।