पत्रकार महासंघ कोशीमा तालाबन्दी

  • 2 years ago
पत्रकार महासंघ कोशीमा तालाबन्दी


 विराटनगर,२५ भदौ २०८० ।  प्रेस चौतारी नेपाल कोशी प्रदेश किमिटीले  सदस्यता शुद्धीकरणमा भेदभावपूर्ण व्यवहार गरेको भन्दै विराटनगर–५ गणेश चोकस्थित  नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ।

सो तालाबन्दीका क्रममा समाजवादी प्रेस संगठन र स्वतन्त्र पत्रकार संघ कोशी प्रदेश समितिले समेत ऐक्कयवद्धता जनाएका छन् ।  महासंघको प्रदेश कार्यालयमा आइतबार तालाबन्दी गरिएका हो ।

महासंघले निश्चित मापदण्ड बनाएर सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई साथ सहयोग गर्दै आए पनि महासंघ कोशी प्रदेश समितिले शुद्धीकरणका नाममा सक्रिय पत्रकारहरूलाई पाखा लगाउने काम गरेको भन्दै ती तीन संगठन आन्दोलित बनेका हुन् ।

आस्थाका आधारमा सक्रियताको परिभाषा गर्ने र मापदण्ड पुगेका नयाँ पत्रकारलाई समेत सदस्यता वितरणमा रोक लगाउने गतिविधि अघि बढाएको उनीहरूले आरोप लगाएका छन् ।

कोशी प्रदेशका १४ वटा जिल्लाहरूमध्ये अधिकांश जिल्लाबाट सहमति पछि पठाइएका सदस्यहरूको सदस्यता शुद्धीकरणको भावनाविपरीत प्रदेश 
 अपारदर्शी  र मनोमानी ढंगले समितिका पदाधिकारीहरूले नियोजित रुपमा नाम फेरबदल गरेको प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिका अध्यक्ष अविजाल बिष्टले आरोप लगाए ।

उनले विवाद उत्पन्न भएका जिल्लाहरूमा समेत आवश्यक समन्वय नगरी एकलौटी ढंगले नाम टुंग्याउन खोजेको बताए । चौतारीको तर्फबाट सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्डको अक्षरशः कार्यान्वयन गर्न समेत आग्रह गरिएको उनले जानकारी दिए ।

महासंघको फ्रदेश समितिले केही जिल्ला महासंघबाट क्रियाशील र सत्रिmय पत्रकारहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा सदस्य कटौती गरेको र केही जिल्लाबाट पठाइएको सहमतिको नाममाथि प्रदेश समिति हाबी हुँदै कैंची लगाउने काम गरेको भन्दै समाजवादी प्रेस संगठनले पनि विरोध जनाएको छ ।

संगठनका कोशी प्रदेश अध्यक्ष तथा नेपााल पत्रकार महासंघ मोरंगका अध्यक्षसमेत रहिसकेका  बन्धु पोखरेलले महासंघ सम्बद्ध व्यक्तिले पत्रकारिताको इतिहास बोकेका पत्रकारहरूको योगदानलाई धूलीसात गर्ने र उनीहरूको सार्वजनिक व्यक्तित्वमाथि नै आँच पुर्याउने काम गरेकोले विरोधमा उत्रिनु परेको उल्लेख गरे ।

‘प्रदेश समितिका केही पदाधिकारीले आफ्नो व्यक्तिगत तुष र अहमका कारण केहीलाई सदस्यबाट बञ्चित बनाउने खेल गरिरहेको र त्यसका लागि अनुचित साँठगाँठ गरिएको तथ्य र प्रमाण फेला परेका छन्’ उनले विज्ञप्तिमा भनेका छन् ।


उनले महासंघजस्तो ओजपूर्ण संगठनलाई बन्धकी राखेर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट आर्थिक लाभ लिने केही पदाधिकारीहरू नै अहिले शुद्धीकरणको हर्ताकर्ता हुनु हाँस्यापस्द र विरोधाभाषपूर्ण देखिएको आरोप लगाए ।

त्यस्ता कार्यको छानबिन हुनुपर्नेमा आर्थिक अपचलनमा आन्तरिक मिलेमतो गरेको घटना बाहिर छरपष्ट हुँदासमेत प्रदेश कार्यसमितिले अनदेखा गरेको वा निरीह हुनुपरेको अवस्थाले चिन्तित बनाएको उनले बताए ।

स्वतन्त्र पत्रकार संघ कोशी प्रदेशका संयोजक विजय खतिवडाले पत्रकार महासंघलाई श्रमजीवी पत्रकारहरूको साझा छाता संगठनको रूपमा व्यावसायिक पत्रकारिताको उन्नयनको लागि अघि बढाउनुपर्ने बताए । तर महासंघको कोशी प्रदेश समितिले पत्रकारिताको मूल भावनाबाट विचलित हुँदै सदस्यता शुद्धीकरणको नाममा राजनीतिक गतिविधि गरेको उनले दाबी गरे ।

उनले सदस्यता शृद्धीकरणका लागि अपनाइएको मापदण्ड र फ्रक्रियाका अतिरित्त आफ्नो छुट्टै मापदण्ड र प्रक्रिया बनाएर पत्रकारिता गरिरहेका महासंघका सदस्यलाई सदस्यताबाट हटाउने कार्यले महासंघ मनमौजी तरिका चलेको भान भएकोमा चिन्ता व्यक्त गरे ।

‘सम्बन्धित सदस्यलाई स्पष्टीकरणको मौकासमेत नदिई सदस्यताबाट हटाउने कार्यले महासंघको गौरवमाथि नै प्रश्नचिन्ह उठेको छ’ खतिवडाले भने, ‘यस्तो कार्य सह्य छैन, व्यक्तिगत रिसइवी र पूर्वाग्रहमा कसैलाई सदस्यताबाट बञ्चित गरिनुलाई राम्रो मान्न सकिन्न ।’

खतिवडाले प्रेस चौतारी र समाजवादी प्रेस संगठन कोशी प्रदेश समितिले सुरु गरेको आन्दोलनका कार्यक्रममा ऐक्यवद्धता रहेको बताए ।