साझेदारी गर्न निजी क्षेत्र तयार छ ः राउत
- 2 years ago
विराटनगर, ३१ भदौ २०८० । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजानिक नीजि साझेदारी सम्वाद कार्यक्रम आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासघ कोशी प्रदेशको अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष राउतले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको साझेदारी आवश्यक रहेको बताए ।
सो कार्यक्रममा उनले कृषि क्षेत्रमा आवश्यक पर्ने स्रोत साधन र शीप तथा उपकरणहरुको विकास र विस्तारमा निजी क्षेत्र सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताए । उनले कृषि प्रविधिको विस्तार र विकासका लागि निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको स्पष्ट पारे ।
कार्यक्रममा मकालू एग्रो एण्ड फुडका सञ्चालक नितेश कार्कीले जूम्लाबाट स्याउ ल्याएर बजारीकरण गर्न थालिएको आयातित स्याउको गुणस्तर बारे नियमन हुनु पर्ने बताए । कृषि अभियन्ता जीवन प्रकाश राईले कृषि उपजमा अनुसन्धान र प्रचारसँगै हुनुपर्ने उल्लेख गरे ।
धरान कृषि बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बजारकिरणको लागि उद्यमीहरुले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले कृषिमा युवाहरुलाई आकर्षित गर्न सके कृषिमा व्यवसायीकरण हुन सक्ने बताए । मत्स्य व्यवसायी विष्णु आचार्यले आयातित माछाका कारण यहाँका माछा व्यवसायीहरु मर्कामा परेको समेत बताए । सनम कृषि फार्म पाँचथरकी सञ्चालिका जुनु लावतीले नीजि क्षेत्रको लगानीमा सरकारले सहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले सार्वजनिक निजी साझेदारी संवादमा उठेका महत्वपूर्ण सुझावहरुलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले उत्पादन लागत कम भएका कृषि उपजको मूल्य निर्धारणमा ध्यान दिन सकिए त्यसको बजारिकरणको सम्भावना अझै धेरै बढ्ने जानकारी दिए । सचिव दाहालले निजी क्षेत्रको पूँजी र प्रविधि परिचालन गर्न प्रदेश सरकार तयार रहेको बताए ।
सचिव दाहालले कोशी प्रदेश अन्तरगत इनरुवादेखि काँकडभिट्टासम्मको करिडोरमा कृषि उत्पादनको बजार व्यवस्थापनमा मण्डीहरुको स्थापना गर्न आवश्यक अध्ययनका लागि प्रदेश सरकार तयार रहेको जानकारी दिदै उत्पादित कृषि वस्तुको उचित भण्डारण क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कृषि विज्ञ डा.राजेन्द्र उप्रेतीले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे कार्यपत्र मार्फत अवसरहरु औंल्याएकका थिए । उनले कृषि प्रविधि विकास र प्रसारमा दुई पक्षबीच साझेदारी हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी कृषि वस्तुको उत्पादन, प्रशोधनमा निजी क्षेत्रको साझेदारी बढेको खण्डमा वस्तुको प्रतिष्पर्धी क्षमता बढ्ने र व्यवसाय पनि फस्टाउने दाबी गर्नु भएको थियो । साथै परम्परागत रुपमा भइरहेका कृषि वस्तुको उत्पादनलाई विविधीकरण गर्न सकिए त्यस्ता वस्तुको मूल्य श्रृंखला अझ बढेर जाने र उत्पादक किसानले धेरै लाभ लिनसक्ने बताए ।
कृषि क्षेत्रसँग सम्बद्ध ६० उद्यमीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागिहरुले सार्वजनिक निजी क्षेत्रबीच इमान्दार र पारदर्शी सहकार्य हुन सकेमा कोशी प्रदेशको कृषि क्षेत्रको व्यावसायिक प्रवद्र्धन हुने बताए ।