सरस्वती माविका पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित

  • 1 year ago
सरस्वती माविका पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित

 विराटनगर । विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । 

८२ औं वार्षिकोत्सव तथा विद्यालयका संस्थापक अध्यक्ष नारायणप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर विद्यालयले पूर्वप्रधानाध्यापक डिल्ली पोखरेल, योगेन्द्रबहादुर कार्की तथा शिक्षकहरु भवानी भट्टराई, भरतराज दाहाल र  भरतबाबु दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गनरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयले गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए । विराटनगरको मुटुमा अवस्थित र पुराना विद्यालय भएर पनि सरस्वती अन्य सामुदायिक विद्यालयसरह खरो रुपमा उत्रिन नसकेको उनको भनाइ थियो । 

उनले विराटनगरकै आदर्श, पोखरिया, गोग्राहा, सत्यनारायणलगायतका विद्यालयले निकै प्रगति गरेको चर्चा गरे । संस्थागत विद्यालयहरु जस्तै सामुदायिक विद्यालयहरुबीच पनि प्रतिस्पर्धा हुनु आवश्यक रहेको मेयर कोइरालाले बताए । ‘भौतिक संरचना र पर्याप्त शिक्षक–कर्मचारी हुँदाहुँदै पनि धेरै सामुदायिक विद्यालयले प्रगति गर्न सकेका छैनन्,’ मेयर कोइरालाले भने, ‘शिक्षक कर्मचारीले जागिरे मानसिकता त्यागेर विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिनु आवश्यक छ । 

महानगरले शिक्षाको गुणस्तर वृद्धिका लागि विभिन्न योजना अघि सारेको उहाँले जानकारी दिए । महानगरका ५६ वटै सामुदायिक विद्यालयका  प्रधानाध्यापकहरुसित महानगरले ४२ बुँदे कार्यसम्पादन सम्झौता गरेको जानकारी दिँदै मेयर कोइरालाले भने, ‘अब प्रअहरुको मूल्यांकन कार्यसम्पादनका आधारमा हुन्छ ।’ मेयर कोइरालाले प्राविधिक र सीपमूलक शिक्षालाई जोड दिनुपर्ने बताए । सीपमूलक र प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान गर्ने उनको तर्क थियो । 

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष विश्वनाथ भगत, समाजसेवी शुभाशिष कोइराला, विद्यालयकी प्रअ अनिता नेपाल, शिक्षक शैलेन्द्र नेपाल, किशोर पोखरेल, भानु प्राविका प्रअ संजीव घिमिरे, महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निश्चल अर्याल, अभिभावक संघका अध्यक्ष रमेशकुमार यादवलगायतले स्थानीय सरकार, प्रअ, शिक्षक, अभिभावकलगायत सबैको सामूहिक प्रयासले मात्रै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सकिने विचार प्रकट गरेका थिए । 

वि.सं. १९९९ मा स्थापित सो विद्यालय विराटनगरमा हाल ७ सय ७ जना विद्यार्थी अध्ययनरत छन् । १ देखि १२ कक्षासम्म पढाइ हुने सो विद्यालयमा २९ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रअ अनिता नेपालले जानकारी दिइन् ।