सवारी दुर्घटना घटाउन जनचेतनाका कार्यक्रम आवश्यक
- 3 years ago
विराटनगर, १९ असार २०८० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका छन् । मङ्लबारदेखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
उनले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गरे ।
यातायाता व्यवसायी, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला क्षेत्रहरुबिच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उनको भनाइ छ ।
उनले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि प्रस्ट पारे ।
सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफंैले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरु सहकार्यमार्फत हुँदै आएको बताए ।
उनले अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा सडक दुर्घटनाको सख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दै आगामी वर्षहरुमा थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपर्ने बताए ।
मुख्यमन्त्री कार्की मङ्गलबार नै गैरसरकारी सस्था आरआरएनबाट सञ्चालित जलवायुजन्य विपद् जोखिमहरुप्रति समुदायको उत्थानशिल सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपहरुको जोखिम रहेको अवगत गराए ।
जलबायुजन्य विपद् अन्तर्गत बाढी र पहिरोको जोखिम बढी रहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारहरुको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पस्ससट पारे । विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरुले पूर्वतयारीमा बढी जोड दिनुपर्ने सुझाव दिँदै तर त्यस्ता निकायहरुको ध्यान राहत र उद्दारमा मात्र हँुदै आएको उनको भनाइ थियो ।