तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड
- 2 years ago
विराटनगर,२६ भदौ २०८० । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै महानगरका मेयर नागेश कोइरालाले तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिए । उनले महिलाहरुको रमाइलोका लागि महानगरले कार्यक्रम आयोजना गरेको बताए । मेयर कोइरालाले महानगरका जनप्रतिनिधि र कर्मचारी एउटै परिवार भएकाले जनताको सेवामा इमान्दारीपूर्वक लाग्नु जरुरी रहेको उल्लेख गरे । जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै विराटनगर बनाउन सकिने उनको भनाइ थियो ।
त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरले महिला कर्मचारीहरुको अभिभावकत्व ग्रहण गरेर दर खाने कार्यक्रम आयोजना गरेको प्रस्ट पारिन् । । उनले वर्ष दिनभरिका सबै पीडालाई भुलेर रमाइलो गर्न आग्रह पनि गरिन् ।
कार्यक्रममा कानुन शाखाकी प्रमुख शारदा थपलिया, सामाजिक शाखाकी प्रमुख अनिता कोइरालालगायतले कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रममा दर खाएर एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै तीजका विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।