उद्योग प्रतिष्ठानका प्राविधिकलाई ईण्डष्ट्रियल अटोमेशन तालिम
- 2 years ago
विराटनगर, २५ भदौ २०८० उद्योग संगठन मोरङले वकर्स प्राविधिकहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित पच्चिस दिने ईण्डष्ट्रियल अटोमेशन तालिम सकिएको छ । सो तालिममा फरदर ट्रेनिङ अन्तर्गत यस क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत वकर्स प्राविधिकहरुको सहभागिता रहेको थियो ।
तालिमको समापनमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक विकासका लागि पूंजी, प्रविधिका साथ साथै श्रमिकको दक्षता विकास समानान्तर रुपमा हुनुपर्ने धारणा राखे ।
परिवर्तित प्रविधिलाई आत्मसात गरी व्यावसायिक तालिमको माध्यमबाट श्रमिकको समय सापेक्ष दक्षता अभिवृद्धि गर्नसके उद्योगको उत्पादकत्व अभिवृद्धि हुने बताए । प्राविधिक क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई सम्वोधन गर्न संगठनले आगामी दिनमा थप उद्योगको आवश्यकताका आधारमा पाठ्यक्रम तयार गरी तालिम संचालन गर्ने बताए ।
संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले पेशाकर्मीहरुको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दे आएको कार्यलाई थप परिस्कृत रुपमा गर्न यसप्रकारको तालिम सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै प्राविधिक क्षेत्रमा कार्यरत श्रमिकको कार्यसम्पादन क्षमतामा सुधार ल्याउन अनुरोध गरे ।
सैद्धान्तिक र प्रयोगात्मक गरी दुई शत्रमा विभाजित तालिम पच्चिस दिनसम्म संचालन भएको थियो । तालिममा डिजीटल पावर ईलेक्ट्रोनिक्स, प्रोसेस कन्ट्रोल, रिले कोआर्डिनेशन, पिएलसी, भिएफडी, सेन्सर, सर्भो सिस्टमलगायतका विषय समेटिएको थियो ।
त्यसैगरी संगठनले हेल्भेटास, इन्स्योर परियोजनाको सहकार्यमा आइतबारदेखि पच्चिस दिने इन्स्ट्रमेन्टेशन तालिम प्रारम्भ गरेको छ । उक्त तालिममा विभिन्न उद्योगका बीस जना प्राविधिकको सहभागिता रहेको छ । आगामी दिनमा उद्योगको माग अनुरुप वोइलर अपरेटर, प्लाष्टिक ईन्जेक्शन मोल्डिङ अपरेटर तालिम आयोजना गर्ने तयारी भइरहेको संगठनले जनाएको छ ।