उद्योग संगठन मोरङद्वारा गम्भीर आपत्ति

  • 2 years ago
उद्योग संगठन मोरङद्वारा गम्भीर आपत्ति

नेपालको संविधान २०७२ ले सम्पूर्ण नेपाली नागरिकलाई स्वतन्त्ररुपमा बाँच्ने तथा उद्योग व्यवसाय गर्न पाउने अधिकारलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । संविधानले सबै नागरिकलाई समानरुपमा व्यवहार गरेको भएतापनि पछिल्ला दिनहरुमा मुलुकको बिग्रदो आर्थिक अवस्थालाई लिएर निश्चित वर्ग र समूदायलाई लक्षित गरी अपमानजनक र अमर्यादित टिकाटिप्पणीप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । 

सदियौंदेखि मुलुकको आर्थिक एवं सामाजिक विकासमा अतुलनिय योगदान गर्दै आएका मारवाडी समुदाय लाई लक्षित गरि मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस बनाएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण र समाजमा द्वैष फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने गरी सञ्चार माध्यमहरुमार्फत लगातार कोही व्यक्तिले अभिब्यक्ती दिइरहदा समेत राज्यले यस्तो कृयाकलाप रोक्न कुनै पहल नगर्नु अत्यन्त दुःखद र खेद्जनक रहेको छ । 

मुलुकको अर्थतन्त्र अत्यन्तै गम्भीर अवस्थामा रहेको पछिल्लो समयमा राज्यका सबै निकाय, राजनीतिक दल, नीजि क्षेत्र तथा आमसर्वसाधारण सबैजना आर्थिक अवस्था सुधारका लागि सामूहिक प्रयास तथा आर्थिक एवं औद्योगिक व्यावसायिक विकासका लागि एक ढिक्का भई लाग्नुपर्नेमा कुनै समुदाय विषेशलाई लक्षित गरि दोषारोपण गर्नाले औद्योगिक व्यावसायिक वातावरण मात्र होइन सामाजिक सद्भावमा समेत गम्भीर खलल पुग्ने देखिन्छ । 

तषर्थ, गलत कार्य गर्ने जो कोही, जुनसुकै समूदाय वा वर्गको भएता पनि दण्डित हुनु पर्दछ तर कोही कसैले गलत गर्यो भनेर अनुमान गरेको भरमा पुरै समूदायलाई लक्षित गरि भइरहेको गलत अभिव्यक्ति र द्वैषभाव फैलाउने कार्यलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याइ निरुत्साहित गर्न नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछौ ।