मकैको अध्ययन गर्न कृषि उद्यमको टोली गुफाववागतर्फ

  • 1 year ago
१५ वर्षको अवधिमा विहारमा कृषिले ठूलो फड्को मारेको छ, यसको सिको नेपालका कृषक, र व्यवसायीहरुले पनि गर्नुपर्ने बताए ।

 विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतको नेतृत्वमा एउटा टोली भारत, बिहारको गुलाववाग गएको छ । मकैको खेती, व्यापार र यसको बजारीकरण, बैंक फाइनान्स आदिको विषयमा अध्ययन गर्न त्यसतर्फ गएको उक्त  टोलीलाई  विराटनगरबाट विदाइ गरिएको छ ।  

विदाइका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले १५ वर्षको अवधिमा विहारमा कृषिले ठूलो फड्को मारेको छ, यसको सिको नेपालका कृषक, र व्यवसायीहरुले पनि गर्नुपर्ने बताए । 

छिमेकी देशमा भइरहेको विकासको नमूनालाई हामीले उदाहरणका रुपमा लिएर अगाडि बढ्नु पर्ने र  भ्रमणका क्रममा मकैको उत्पादन, यसको खेती यसमा संलग्न व्यवसायीहरुसंगको अन्तरक्रियाबाट उठेका राय सुझावहरु मकैको व्यावसायिक खेतीका लागि प्रोत्साहन हुने विश्वास लिंदै टोलीलाई उनले शुभकामना दिएका थिए । 

यसैगरी भ्रमण टोलीलाई शुभकामना दिनु हुँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषिलाई आत्मनिर्भर बनाउन भारतको केन्द्रीय र राज्य सरकारले धेरै सुविधाहरु दिएको चर्चा गर्दै नेपालमा पनि यस्तो सुविधा दिएर कृषिको विकास गर्नुपर्ने कुरामा जोड दिए । 

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका  सभापति डीवी बस्नेतले कृषि उद्यम केन्द्रले सिमिट नेपालको सहयोगमा पश्चिम नेपालको कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुर जिल्लामा मकैको व्यावसायिक खेतीको शुरुआत गरेको र यसमा उक्त जिल्लाका कृषक, सहकारी, व्यवसायीहरुको सहभागिता रहेको जानकारी गराए । 

सिमेट नेपालको सहयोगमा कृषि उद्यम केन्द्रले सिप, ज्ञान, क्षमता अभिवृद्धिलगायत विभिन्न तालिमहरु दिएर मकै खेतीको व्यवसायीकरण गर्न प्रोत्साहन गर्दै आएको बताउँदै उक्त भ्रमण टोलीमा ६ जिल्लाका सहकारी, कृषक समूह, उद्योग वाणिज्य संघ, गाउँपालिका कृषि उद्योगका संचालक लगायत ३० जनाको सहभागीता रहेको उनले बताए ।