स्वास्थ्यकर्मी लिए जलनसम्बन्धी तालिम

  • 2 years ago
 विराटनगर महानगरपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेवीका तथा स्वास्थ्यकर्मीहरुका लागि जलन (बर्न) र स्केल्ड सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेवीका तथा स्वास्थ्यकर्मीहरुका लागि जलन (बर्न) र स्केल्ड सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

यदि कसैलाई आगोबाट जलन भयो भने तत्कालै के गर्ने ? प्राथमिक उपचार कसरी गर्ने? त्यसपछि कहाँ समन्वय गर्नेलगायतका विषयमा सहभागीलाई जानकारी गराइएको थियो । 

कीर्तिपुर अस्पतालका चिकित्सक प्रा.डा. शंकरमान राईले सहभागीहरुलाई विस्तृत रुपमा जलनसम्बन्धी जानकारी गराएका थिए । उनले सामान्य जलन हुँदा प्राथमिक उपचार सही तरिकाबाट नगरिँदा त्यसबाट बढी जोखिम हुन सक्ने बताए ।

 धेरै मानिसलाई जलनपछि के गर्ने भन्ने सामान्य जानकारी नहुँदा मलम, पेष्ट, आलु, एलोबेरा, टमाटरलगायत लगाउने गरेको उनको भनाइ थियो । 

यदि कसैलाई जलन भयो भने तत्कालै कल वा धाराको पानी लगातार आधा घण्टासम्म लगाउनुपर्नेमा जोड दिए । त्यस्तै जलन भएका व्यक्तिलाई जीवनजल दिने र तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लैजान उहाँले सुझाव दिए । 

talim ko photo (8).jpeg 191.52 KB
जसले गर्दा जलनबाट हुने क्षति कम हुने डा. राईले जानकारी गराए । कीर्तिपुरका डा. राईसहित सहायक प्राध्यापक कैलाश खाकी श्रेष्ठले सहभागीहरुलाई जनलको प्राथमिक उपचार, जोखिम न्यूनीकरणलगायतका विषयमा जानकारी गराएका थिए ।  

तालिममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आगलागीबाट हुने मानवीय क्षति न्यूनीकरणमा तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।  दुई दिनसम्म सञ्चालन भएको अभिमुखीकरण तालिममा महिला स्वास्थ्य स्वयम्सेवीका र स्वास्थ्यकर्मीको सहभागिता रहेको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए । 

महानगरका मेयर नागेश कोइरालाले विराटनगर–१९ स्थित वैजनाथपुर अस्पतालमा जलनसम्बन्धी प्राथमिक उपचारको व्यवस्था मिलाउने योजना रहेको जानकारी दिए  । उनले जलनको उपचार गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेट्ने बताए
। 

तालिमबाट प्राप्त ज्ञान र सीपका कारण आगलागीबाट जलन भएका व्यक्तिको उपचार प्रभावकारी हुने स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले दाबी गरे  । जलन हुँदा के–के गर्न हुने र के–के गर्न नहुने भनेर अधिकांश स्वास्थ्यकर्मीलाई समेत जानकारी नभएको अवस्थामा तालिम प्रभावकारी भएको उनको भनाइ थियो ।