विराटनगरमा प्रस्ताव लेखन तालिम सुरु

  • 1 year ago
विराटनगरमा प्रस्ताव लेखन तालिम सुरु


विराटनगर । गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । 

विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । 

आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर कोइरालाले सीप भएको व्यक्ति जहाँसुकै गएर पनि आत्मनिर्भर हुन सक्ने बताए । सीप भएको व्यक्ति जहाँसुकै पनि बिक्न सक्ने उनको धारणा थियो । 

मेयर कोइरालाले विराटनगरवासीलाई सीप सिकाएर आत्मनिर्भर र स्वरोजगार बनाउने बाटोमा महानगर अगाडि बढेको उल्लेख गरे । संस्था सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन आवश्यक पर्ने बताउँदै मेयर कोइरालाले गैससले यसपटक समय सान्दर्भिक तालिम आयोजना गरेको बताए । 

कार्यक्रममा गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको चर्चा गरिन् । 

विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले सहभागीहरुलाई प्रशिक्षण दिनेछन् । तालिममा मोरङमा सञ्चालित विभिन्न गैसरकारी संस्थामा आबद्ध ४० जनाको सहभागिता रहेको गैससकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिइन् ।