व्यावहारिक र नैतिक शिक्षालाई प्राथमिकतामा
- 2 years ago
विराटनगर, ३ भदौ २०८० । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई शैक्षिक हब बनाउनुपर्नेमा जोड दिएका छन् ।
विराटनगरस्थित सगरमाथा कलेजले उत्कृष्ट विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक हब बन्दै गएको उल्लेख गरे ।
‘शिक्षा र स्वास्थ्यको सेवा लिनका लागि अब विराटनगरभन्दा बाहिर गइरहनुपर्दैन,’ मेयर कोइरालाले भने,‘देशभरिकै उत्कृष्ट अंक ल्याउने विद्यालय र कलेज यहीं छन्, हामीसित दुई–दुईवटा मेडिकल कलेज छन् । तर पनि हाम्रा विद्यार्थीहरु काठमाडौं र विदेश पढ्न गइरहेका छन् ।’
उनले गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ विदेशिएको भन्दै चिन्ता व्यक्त गरे । हरेक वर्ष विदेश जाने विद्यार्थीको संख्या बढ्नै गएको उनको भनाइ थियो ।
कोइरालाले घोकन्ते शिक्षाभन्दा व्यावहारिक शिक्षामा जोड दिनु आवश्यक रहेको औंल्याए । ‘विद्यालय तहदेखि नै व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश विदेशमा श्रममा बिक्न सक्छन् । हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेका छन् ।
त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन्,’ मेयर कोइरालाले थप्नुभयो, ‘गत आर्थिक वर्ष ७ लाख ७५ हजारभन्दा बढी युवा विदेशिए । चाहे अध्ययनका लागि होस् चाहे रोजगारीका लागि होस् तर युवा जनशक्ति विदेशिनु देशका लागि दुर्भाग्य हो ।’
कार्यक्रममा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने अनुभव तिम्सिना, चन्द्रशेखर कामत, प्रिया कटवाललगायत विद्यार्थी सम्मान गरिएको थियो । उनीहरुलाई मेयर कोइराला, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, कलेजका प्राचार्य त्रिलोचन गौतमलगायतले सम्मान गरेका थिए ।